प्लान इन्टरनेशनलमा ७६ स्थायी कर्मचारीलाई सामूहिक अवकाश, कर्मचारी धर्नामा

६ मंसिर, काठमाडौं । बिगत ४० वर्षदेखि नेपालमा कार्यरत अन्तर्राष्ट्रिय गैरसरकारी संस्था प्लान इन्टरनेशनलले एकैपटक ७६ जना स्थायी कर्मचारीलाई अवकाश दिएपछि हटाइएका कर्मचारी धर्नामा बसेका छन् ।

संस्थाको नियमावली र नेपालको श्रम कानुन विपरीत आफूहरुलाई सामुहिक अवकाश दिइएको भन्दै हटाइएका कर्मचारीले श्रम तथा रोजगारमन्त्री गोकर्ण विष्टलाई समेत भेटेर न्याय दिलाउन माग गरेका छन् ।

प्लान इन्टरनेशनल नेपालले नीतिगत पुनसंरचना गर्ने भन्दै बिभिन्न जिल्लामा कार्यरत ७६ जना कर्मचारीलाई यही डिसेम्बर महिनाबाट लागु हुने गरी अवकाशपत्र थमाएको छ । अवकाश पाउनेमा विकास संयोजक, सुरक्षा गार्ड र सूचना प्रविधि संयोजकसमेत गरी ७६ जना ‘स्थायी कर्मचारी’ रहेका छन् ।

संस्थामा कम्तीमा १० वर्षभन्दा बढी अवधि काम गरेका कर्मचारीलाई अन्यायपूर्ण र अमानवीय ढंगले बर्खास्तीको पत्र थमाइएकाले आफूहरु विरोधमा उत्रिनु परेको बर्खास्तीमा परेका कर्मचारीले बताएका छन् । अवकाशमा परेका कर्मचारीलाई यसअघि संस्थाले स्थायी नियुक्तिपत्र दिएको थियो ।

नेपालको श्रम ऐन २०७४ र प्लान इन्टरनेशनलकै मानव संशोधन नीति विपरीत स्थायी कर्मचारी हटाइएपछि उनीहरु कानुनी प्रक्रियामा पनि जाने भएका छन् । उनीहरुले संस्थाको पुनसंरचना गर्दा कुनै पद खारेज हुँदैमा बहालवाला कर्मचारीहरु खारेज नहुने तर्क गरेका छन् ।

संस्थाले केन्द्रीय तहको पुनसंरचना गर्दा सबै कर्मचारीलाई समायोजन गरेको तर फिल्ड कार्यालयको पुनसंरचना गर्दा त्यहाँका स्थायी कर्मचारीलाई बर्खास्त गरेको पाइएको श्रम कार्यालयले जनाएको छ । श्रम ऐन बमोजिम श्रमिकको संख्या कटौती गर्ने जुन प्राबधान छ सो अनुसार नदेखिएको स्रोतले जनाएको छ ।

यसैबीच प्लान इन्टरनेशनल नेपालको कार्यालयले भने श्रम कार्यालय बागमतीलाई पत्र लेखी संस्थाको विश्वव्यापी रणनीति र राष्ट्रिय रणनीति अनुरुप बिभिन्न फिल्ड अफिसमा कार्यरत ७६ जना कर्मचारीलाई कटौती गर्न लागिएको जानकारी गराएको छ ।

हाम्रो पुस्ता नै बन्दुक बोक्ने अन्तिम पुस्ता हो : अध्यक्ष तामाङ

६ मंसिर, झापा । अखिल (क्रान्तिकारी) का अध्यक्ष रञ्जित तामाङले अब कुनै पनि नेपालीका छोराछोरीहरुले बन्दुक बोक्नु नपर्ने बताएका छन् । तामाङले आफ्नो पुस्ता नै बन्दुक बोक्ने अन्तिम पुस्ता भएको दाबी गरेका छन् ।

तामाङले मुलुकमा २४० वर्षदेखि सामन्तवादले जकडिएको सत्ताको तखता पल्टाउन हिजो बन्दुक बोक्न बाध्य भएपनि अब त्यो स्थिति नरहेको बताए ।

बिहीबार गृहजिल्ला झापाको गौरादह नगरपालिकामा अनेरास्ववियु र अखिल (क्रान्तिकारी) द्वारा संयुक्त रुपमा आयोजित सहिद स्मृति सभालाई सम्बोधन गर्दै तामाङले सो धारणा राखेका हुन् ।

अबको लडाइँ विकास र समृद्धिका लागि हुने बताउँदै तामाङले भने, ‘हाम्रो पुस्ता नै बन्दुक बोक्ने अन्तिम पुस्ता हो। अबको नयाँ पुस्ताले फेरि बन्दुक बोक्नु पर्दैन ।’

नयाँ संविधानले नै जनताको सबै आकांक्षा पूरा गर्ने बाटो खोलेकाले अब कसैले हतियार उठाउनु नपर्ने तामाङले जिकिर गरे।

अखिल (क्रान्तिकारी)का तत्कालीन झापा जिल्ला अध्यक्ष रमेश सुवेदी र उपाध्यक्ष विष्णु प्रधानको विक्रम संवत् २०६१ साल मंसिर ३ गते हत्या भएको थियो। सोही दिनको स्मरणमा अखिल क्रान्तिकारी झापाले सहिद स्मृति सभा आयोजना गरेको हाे । सुवेदी र प्रधानको सम्झना र सम्मानमा रक्तदान तथा श्रद्धाञ्जली कार्यक्रम राखिएको क्रान्तिकारीका झापा अध्यक्ष अनिल सुवेदीले बताए।

अपाङ्गता भएकाहरुकोे लागि निःशुल्क स्वास्थ्य शिविर

६ मंसिर,गुल्मी । गुल्मीको शान्तिपुरमा अपाङ्गता भएकाहरुकोे लागि एकदिने निःशुल्क स्वास्थ्य परीक्षण शिविर आयोजना गरिएको छ ।

आशा अपाङ्ग केन्द्र गुल्मीको आयोजना र चन्द्रकोट गाउँपालिका गुल्मी, अपाङ्ग वाल अस्पताल बनेपा काभ्रे, सक्षम परियोजना गुल्मी, चक्रेश्वर अपाङ्ग समाज शान्पिुर गुल्मीको संयोजनमा चन्द्रकोट गाउँपालिकाको शान्तिपुरमा आयोजना गरिएको हो ।

शिविर अपाङ्ग सहाय सामाग्री बितरण तथा परामर्श सेवा प्रदान गरिएको थियो । जिल्लाका बिभिन्न ठाउँबाट आएका पूर्ण अशक्त अपाङ्गहरुको लागि ७ थान हुइलचियर, ५ थान बैशाखी, १ थान वार्कर, ५ जनाको लागि कृतिम हातखुट्ट मापन, ५ जनाको लागि उपचारको लागि अपाङ्ग बनेपा पठाउने गरी शिविर सम्पन्न भएको आशा अपाङ्ग केन्द्र गुल्मीका शुरेस श्रेष्ठले बताए ।

शिविर सम्पन्न गर्न बिभिन्न दात्रि निकायहरुबाट सहयोगमा सम्पन्न गरिएको आयोजक संस्थाले जनाएको छ । आशा अपांग केन्द्रले जिल्लामा विगत १० वर्ष अघिदेखि प्रत्यक्ष रुपमा अपांगताको क्षेत्रमा मात्र काम गर्दै आइरहेको छ ।

पोखरामा हस्पिटलको सेवा घरमै

६ मंसिर, पोखरा । पोखरेलीले अब हस्पिटलको सेवा घरमै पाउने भएका छन् । ललितपुरको मेडिलिंक होम केयर प्रालिले पोखरेलीको घर/घरमै पुगेर हस्पिटलको सेवा दिने भएको हो ।

प्रालिले पोखराको गैह्रापाटनमा शाखा कार्यालय राखेर सेवा सुुरु गरेको विहीबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा जानकारी गराएको हो ।

प्रालिका अनुसार घर/घरमा पुगेर दिइने सेवा विशेषज्ञसहितको हुनेछ । त्यसका लागि विरामी वा विरामीका आफन्तले फोन गरेर सेवाका लागि माग गर्नुपर्नेछ ।

होम केयरका संचालक उत्तम खतिवडाले सेवाका लागि फोन गरेको केही समयमै विशेषज्ञसहितको टोली विरामीको घरमा पुगेर सेवा दिने बताए ।

टोलीमा सम्बन्धित रोगका विशेषज्ञ चिकित्सकसहित नर्ससमेत हुने उनले जानकारी दिए । उनले पोखरेलीको आवश्यक्तालाई महशुष गरेर सेवा शुरु गरेको जानकारी दिए । सेवाका लागि प्रालिले पोखराका विभिन्न ६ वटा हस्पिटलसँग सहकार्य गरेको उनले बताए ।

घरमै सेवा लिने सेवाग्राहीले सेवा वापत हस्पिटललाई १ हजार ५ सय रुपैयाँ शुल्क तिर्नुपर्ने सञ्चालक खतिवडाले जानकारी दिए ।

नर्सका लागि भने सेवाग्राहीले छुट्टै शुल्क तिर्नुपर्ने उनले बताए । उनका अनुसार नर्सले ६ घण्टा सेवा दिए वापत ६ सय रुपैयाँ शुल्क तिर्नुपर्नेछ ।

प्रालिले प्रारम्भिक चरणमा ७० जनाको स्वास्थ्य टोली तयारी अवस्थामा राखेर सेवा सुरु गरेको जनाएको छ ।

प्रालिले चौविसै घण्टा उपचार गर्नुका साथै विरामीको हेरचाहसमेत गर्नेछ । विरामीलाई थप सेवा आवश्यक परेमा हस्पिटल पनि लैजाने काम गर्ने खतिवडाले बताए । त्यसका साथै प्रालिले मेडिकल सामग्रीको बिक्री तथा भाडामा प्रयोग गर्न दिने, प्रयोगशाला सम्बन्धी सेवा, फिजियोथेरापी सेवा, विरामीको कुरुवा बसिदिनेलगायतका सेवा पनि दिनेछ ।

मानिसको ब्यस्ततालाई ध्यानमा राखेर घरमै स्वास्थ्य सेवा दिनका लागि सेवा सुरु गरिएको डा. सन्तोष ढकालले बताए ।

मणिपाल शिक्षण अस्पतालका डाक्टर ढकालले पूर्वाहृन ९ बजेदेखी ४ बजेसम्म अस्पतालमा ड्यूटी गर्ने र त्यो बाहेक आफूले घरमै पुगेर होम केयर सेवा दिने बताए ।

होम केयर पोखरा शाखाका म्यानेजर विवेक थापाले एम्बुलेन्स, अक्सिजनलगायतका अत्यावसेक सेवापनि दिने तयारी गरिएको जानकारी दिए ।

१० किलो चाँदीसहित भारतीय युवक पक्राउ

६ मंसिर, वीरगञ्ज । पर्सा प्रहरीले १० किलो चाँदीसहित एक युवकलाई पक्राउ गरेको छ । भारतको बिहार पश्चिम चम्पारण, थाना चनपटिया, लखौरा टोल बस्ने ३० वर्षीय गुलसन साह कानुलाई १० किलो चाँदीसहित पक्राउ गरेको हो ।

बीआर२२एडी नं.को मोटरसाइकलमा चाँदी लिएर भारत जाँदै गरेको सूचनाको आधारमा वीरगञ्ज महानगरपालिका वडा नं २५ सिर्सिया खल्वाटोलबाट साहलाई चाँदीसहित नियन्त्रणमा लिन सफल भएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक मानबहादुर राईले जानकारी दिए ।

उनले मोटरसाईकलको एयरफिल्टर भित्र पहेँलो रंगको प्लाष्टिकमा पोको पारी लुकाएर लैजाँदै गरेको अवस्थामा को प्रति पोका ५ किलोको दरले दुई पोका १० किलोग्राम चाँदी फेला परेको जानकारी दिए ।

चाँदीको कागजात माग गर्दा पेश गर्न नसकेकोले साहलाई चाँदी र मोटरसाइकलसहित नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।
उनलाई बरामद गरिएको समानसहति आवश्यक कारवाहीको लागि राजश्व अुनसन्धान विभाग, मध्य क्षेत्रीय कार्यालय पथलैया, बारा पठाइने प्रहरीले जानकारी दिएको छ ।

गुलसनले भने लक्ष्मी विकास बैकबाट चाँदी निकालेर साहुले आफूलाई भारत लैजान भनेको दावी गरेका छन् । मासिक १२ हजार पारिश्रमिक लिएर आफूले साहुकोमा काम गर्दै आएको उनको भनाइ छ । उनले साहुको नाम भने खुलाएका छैनन् ।

कार्यकर्तालाई देउवाको निर्देशन–मेरो होइन सरकारको बिरोध गर्नूस्

६ मंसिर, रुपन्देही । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकारका गतल गतिबिधिका बारेमा बोल्न कांग्रेस नेता तथा कार्यकर्ताहरुलाई निर्देशन दिएका छन् ।

महासमिति बैठकमा पेश गरिने राजनैतिक एवं मस्यौदा सुझाव संकलनका लागि भैरहवामा आयोजित प्रदेशस्तरीय कार्यक्रममा बोल्दै सभापति देउवाले सरकारको विरोध गर्न किन डराएको भन्दै प्रश्नसमेत गरेका थिए ।

पार्टीका नेताहरु आफूविरुद्ध लाग्ने तर अधिनायकवादतिर लम्केको ओली सरकारको विरोध नगरेको भन्दै उनले आक्रोशसमेत प्रकट गरे । ‘नेकपाका नेता माधवकुमार नेपाल केपी ओली सरकारविरुद्ध बोलिसके,’ सभापति देउवाले प्रश्न गरे, ‘के माधव नेपालको जति हिम्मत पनि हाम्रो नेतामा छैन् ? नेकपाको खिलाफमा बोल्नुस्, किन डराउनुहुन्छ ?’

सरकारको गलत कदमविरुद्ध नबोल्दा सरकार थप अधिनायकवादतर्फ लम्किएको देउवाले टिप्पणी गरे ।

मुलुकमा हत्या, हिंसा बलात्कारका जस्ता जघन्य अपराधका घटना दिनप्रतिदिन बढ्दै गएको भन्दै सरकार उनले सरकार असफल भएको दावी गरे ।

मृत्युपछि गुमनाम झलकमान गन्धर्व !

नेपाली लोक संगीतका शिखर व्यक्तित्व झलकमान गन्धर्व निधन भएको १४ वर्ष पूरा भई १५ वर्ष लागेको छ । उनको मृत्यु ६८ वर्षको उमेरमा ०६० साल मंसिर ६ गते काठमाडौमा भएको थियो ।

नेपालकै सुन्दर पर्यटकीय नगरी कास्की पोखरास्थित कालीखोला किनाराको बाटुलेचौरको एउटा विपन्न गरिब गन्धर्व परिवारमा विसं. १९९२ साल बैशाख १२ गते जन्मिएका थिए झलकमान ।

पिता दुर्गाबहादुर गन्धर्व र माता भागीरथी (मकैडाली) गन्धर्वको कोखबाट जेष्ठ सुपुत्रका रुपमा यी महान लोक स्रष्टाको जन्म भएको थियो ।

वनको काँडोलाई तिखारी रहनुपर्दैन भनेजस्तै रुढीग्रस्त सामाजिक प्रणालीको छेकथुन, भेदभाव, चरम गरिबी र अभावले उचित शिक्षा दिक्षा नलिइकनै वाल्यावस्था बित्यो ।उनी नौ वर्षको हुँदा ममतामयी आमाको मृत्युले झलकमानलाई ठूलो बज्रपात नै पर्‍यो ।

जन्मजात सांगीतिक जाति र पुख्र्यौली कला एवं सीपले झलकमानका बाल पाइलाहरु आफ्से–आफ अघि बढ्दै गए । ९ वर्षको बाल्यकालदेखि नै सारंगी बजाउन जानिसकेका झलकमान १३ वर्षको हुँदा र्‍याइँ र्‍याइँ सारंगी रेटदै गामठाम, लेकबेंसी डुल्थे । विभिन्न गाँउले जनजीवन, सुखदुख, मायापिरती, कथाव्यथाका साथै वीरता र राष्ट्रियताका गाथा र कर्खा सुनाउँथे ।

आफ्नो खेतबारी नभएकाले सारंगी बजाएर मात्रै परिवार धान्न सक्ने अवस्था थिएन । नाचगान, मेलापर्व र जात्रा–उत्सव बाह्रै महिना चल्ने कुरा पनि थिएन । सारंगी रेटेकै भरमा परिवार चल्न सक्दैनथ्यो । बाल्यकालमा माछा मार्नु झलकमानको अर्को मुख्य काम थियो ।

कालीखोला, मगदी, पार्दी, खुर्से, विजयपुर, सेती खोलामा दुवाली थुनेर माछा मारी बजारमा बेचेर खर्च जोहो गर्नुपर्थ्यो । भोटो कछाडको पहिरनमा जाल र पेरुङ्गो भिरेर कालीखोलाको किनारमा जिन्दगीका धेरै क्षणहरु बिताएका थिए झलकमानले ।

२१ वर्षको उमेरमा मामाकी छोरी कलावती गन्धर्वसँग उनको पहिलो विवाह भएको थियो । एक छोरा र एक छोरीकी आमा कलावतीको असामयिक निधनले झलकमानले दोस्रो विवाह गरेका थिए । काठमाडौंको कीर्तिपुरसँग जोडिएको गाम्चाकी मंगलमाया श्रेष्ठसँग प्रेम विवाह गरेका थिए । उनका कान्छीपट्टी चार छोरा र एक छोरी छन् । उनका परिवारजन कीर्तिपुरमै बस्दै आएका छन् ।

गीत–संगीतका शुरुवाती दिन, वर्षहरुमा आफ्नै गाउँघर, शहर बजार घुम्दै लोकप्रिय बनेका झलकमान ३० वर्षको उमेरमा विसं. ०२३ सालमा आयोजित राष्ट्रिय लोकगीत प्रतियोगितामा भाग लिन तत्कालीन अञ्चलाधीश लक्ष्यबहादुर गुरुङका साथमा कल्याण शेरचनको नेतृत्वमा काठमाडौं आए । सो प्रतियोगितामा प्रथम भई उत्कृष्ट स्थान हासिल गरेपछि झलकमान राष्ट्रियरुपमा चम्किन थाले ।

सुगौली सन्धिपछि बहादुर गोर्खाका नाममा पराई भूमि रक्षाका लागि लाहुरेको मरण कर्खा र कारुणिक पारिवारिक वर्णनमा आधारति उनको आफ्नै रचना “आमाले सोध्लिन् नि खै छोरा भन्लिन्” गीत नै प्रतियोगितामा गाएका थिए । जुन गीत कालजयी बन्यो ।

निर्णायक मण्डलको विजयी घोषणाछि श्री ५ महेन्द्र सरकारबाट झलकमानलाई स्वर्णपदकसहित १ हजार नगद पुरस्कारसमेत प्रदान गरिएको थियो । त्यही सफलताले रेडियो नेपालमै सारंगी र मादल वाद्यवादकका रुपमा उनले जागिर खान थाले ।

विसं. ०२४ साल कात्तिक १ गतेदेखि उनले रेडियो नेपालमा गायकको रुपमा पनि काम गरे । काठमाडौंमा केही विदेशी र नेपालीलाई समेत उनले सारंगी बजाउन सिकाए । याक एण्ड यति होटलको “भैरव नृत्य दल” मा सहभागी भएर भारत, जर्मनी, स्वीट्टजरल्याण्ड, पेरिस, युगोस्लाभिया लगायतका देशहरुको समेत भ्रमण गरे ।

रेडियो नेपालमा झलकमानका २५० भन्दा बढी गीत रेकर्ड भैसकेका छन् । तर, बिडम्बना, आज उनका ८/१० वटा गीत पनि बज्दैनन् ।

उनका ११ गीत संकलित “झलकमान गन्धर्वका लोकगीतहरु” म्युजिक नेपालले बजारमा ल्याएको छ ।

झलकमानका आमाले सोध्लिन् नि खै छोरा भन्लिन्, डाँफे चरी, अल्लारे नानी, राधा पियारी, खाँउ त भने, चाँचरी गीत, बाला जोवन लगायत दर्जनांै गीतहरु चर्चामा छन् ।

झलकमानले नेपाली गीत संगीतको सिर्जना, जर्गेना र श्रीवृद्धिमा सिंगो जीवन समपर्ण गरे । यसैको सम्मान स्वरुप नारायणगोपाल स्मृति सम्मानदेखि इन्द्रराज्यलक्ष्मी पुरस्कार लगायत दर्जनौं सम्मान पाउनु अहोरात्र सारंगीको तार रेटेरै पाएको झलकमानको चिनारी हो ।

नर्वेबाट प्रकाशित पुस्तकमा त झलकमानले “अरबाजो” बजाएको दुर्लभ तस्वीरसमेत छापिएको छ । नेपालको हिमाल खबरले “सय वर्षका एक सय एक नेपाली” मा झलकमानले ८२ औं स्थान प्राप्त गरेका छन् ।

रेडियो नेपालको सीमित तलब, ठूलो पारिवारिक बोझ, दम रोगले च्याप्दै लगेपछि उनको एउटै गुनासो थियो– मैले यत्तिका पुरस्कार पाइसकें, तर, अझसम्म मैले गोर्खा दक्षिणबाहु नपाउँदाखेरि मलाई दुःख लाग्छ । नपाउनेले पाइसके मैले पनि त पाउनुप¥यो नि एउटा गोर्खा दक्षिण बाहु ।

आफ्नो नाजुक शरीरलाई विशेष उपचारका लागि विदेशतिर लगिदिएमा अरु केही वर्ष बाँच्न सक्ने आशामा थिए झलकमान । तर, राज्यले परम्परावादी सोचकै कारण त्यस्तो न्याय गर्न सकेन । एउटा होनाहार लोक स्रष्टाको जीवन रक्षाका लागि राज्यले पहल नलिनु दुःखद कुरा हो ।

झलकमानले राज्यका लागि के के मात्रै दिएनन् ? स्वदेशमा र विदेशमा समेत नेपाली गीत संगीत, राष्ट्रियता, स्वाभिमानलाई उँचो तुल्याए । गीत संगीतको भण्डारमा झलकमान महासागर बनेर सुसाए ।

तर, घृणावाद र तिरष्कारवादको मूल सिद्धान्तमा आधारित नेपाली राज्यसत्ताले मृत्यु भएको १५ वर्ष लाग्दासमेत उनको प्रतिष्ठानका लागि १ रुपैयाँ बजेट छुट्टाएको छैन ।

उनको सिर्जना के कस्तो अवस्थामा छ ? उहाँको परिवारको दैनिकी कस्तो छ ? परिवारप्रति राज्यको जिम्मेवारी र दायित्व के हो ? भन्नेसम्म महसुस गर्न नसक्नु दुर्भाग्य हो ।

उनको मृत्यु हुँदा विभिन्न नेताहरुले आश्वासनको झुटो पोको बाँडेका थिए । उनका नाममा झलकमान मार्ग, झलकमान चोक र झलकमान प्रतिमा, आदि आदि । तर, ती सबै झूठा आश्वासन पानीका फोकासरी फुटे ।

जनताका लोकगायक झलकमान गन्धर्व नामक स्मृति पुस्तक प्रकाशन गरेर नेपाल दलित साहित्य तथा संस्कृति प्रतिष्ठानले ठूलो गुन लगाएको छ । पुस्तक बिक्रीबाट प्राप्त रकमले स्थायीकोष खडा गरी त्यसबाट आएको ब्याजले उनको स्मृतिमा झलकमान पुरस्कार प्रदान गर्ने उद्देश्य राखिएको थियो ।

तर, अफसोच ! जुन संस्थाले पुस्तक बिक्री गर्ने जिम्मा लियो । उसले दराजमै थन्काएर ढुसी र माउलाई खुवाएर नष्ट गरेको छ ।

कला संस्कृति, प्रविधि र ज्ञान सीपका धनी समुदाय राज्यसत्तामा निर्णयक ठाउँमा नहुँदा झन–झन किनाराकृत भैरहनुपरेको छ । हजारांै वर्षदेखि यी समुदाय राज्यबाट थिचोमिचो र विभेदमा पारिएको विदितै छ । उनको मृत्युमा समेत विभेदको छाँया प्रतिविम्वित भएको थियो । दाहसंस्कारका लागि चन्दा उठाइनु पर्ने र थोत्रो ट्रकमा शव सवार गरिनुपरेको थियो । कुनै राष्ट्रिय मानसम्मानविनै !

समग्र राष्ट्रहित र जनहितमा काम गर्नुको साटो राज्य नजानिँदो तरिकाले नातावाद, कृपावाद र परिवारवादमा अल्मलिरहेको छ । राज्य सञ्चालकहरुको हितमा कुनै पनि संरचना खडा गर्न कुनै आइताबार कुर्नुपर्दैन । मदन भण्डारी, प्रमले घोषणा गरेको प्रकाश दाहाल स्मृति प्रतिष्ठान आदि । तर, राज्यको एकलनश्लीय जातिवादी मानसिकताका कारण दिलबहादुर रम्तेल, रामशरण दर्नाल, मगर गन्धर्व र झलकमान गन्धर्व स्मृति प्रतिष्ठान खोल्न सरकार किन पछि सर्छ ?

एकजना पूर्वप्रधानमन्त्रीले आफू जीवित छँदै, आफ्नै नाममा प्रतिष्ठान खोलेर जनताले तिरेको करबाट करोडांै लान्छन् । तर, जनताका लोक गायक झलकमान गन्धर्वलाई भने मृत्यु भएको १५ वर्ष लाग्दासमेत राज्यबाट उनको सम्मानमा १ रुपैयाँ बजेट नछुट्ट्याउनुका पछाडिको रहस्य के हो ? के भनेजति मनोमानी गर्न यो देशमा गन्धर्वहरु नै राष्ट्रपति वा प्रधानमन्त्री बन्नुपर्ने नै हो त ?

यदि त्यसो होइन भने राज्य, सरकार र नेतृत्वले राज्यको गहना लोक संगीत र कला स्रष्टाप्रति जिम्मेवार बन्नुपर्छ कि पर्दैन ?

झलकमानको सम्मानमा यसो गर्न सक्छ राज्यले

हाल नेपालको जनसंख्या झन्डै तीन करोड रहेको छ । नेपालका १२५ जातिमध्ये गन्धर्व जाति पनि एक हो । वि.सं. २०५८ सालको जनगणनानुसार गन्धर्वहरुको जनसंख्या ५ हजार आठ सय ८७ रहेको छ । अर्थात, नेपालको कृ्ल जनसंख्याको ०.२१ प्रतिशत रहेको तथ्यांकले देखाएको छ ।

वि.सं. २०६८ सालको जनगणना अनुुसार गन्धर्व जातिको जनसंख्या ६ हजार सात सय ९१ छ, जसमध्ये कास्कीमा ६ सय २४ जना छन् । कास्कीमा मात्रै एक सय २४ घरधुरीमा ६५ वटा त पोखराको बाटुलेचौरमा छन् । यो जातिको मुख्य वासस्थान कास्की जिल्ला हो भने अन्य विभिन्न जिल्लाहरुमा वाग्लुङ्ग, पाल्पा, दैलेख, सुर्खेत, भोजपुर तथा जाजरकोटमा पनि यिनीहरुको वसोबास रहेको पाइन्छ ।

कला कौशल, सीप–प्रविधि र सिर्जनशीलतामा राष्ट्रिय स्तरमै अब्बल भए जस्तै साँस्कृतिक रुपमा पनि गन्धर्व जाति अगाडी नै रहेको छ । तर, नेपालको तहगत विभेदपृ्र्ण जातीय संरचना, अज्ञानता, आफनो कलासंस्कृति संरक्षणप्रति चेतनाको अभाव, गहिरो खोज अनुसन्धानको कमी, संस्कृतिको संरक्षणमा राज्यको उदासिनताले गर्दा गन्धर्व जातिको मौलिक लोकसंस्कृति लोप हुने अवस्थामा रहेको छ ।

अहिलेसम्म पनि अपेक्षाकृत उनीहरुको विशिष्ट कलासँस्कृतिको अध्ययन अनुसन्धान हुन सकेको छैन । त्यसको विस्तृत अध्ययन अनुसन्धान र खोजविन गर्नुपर्ने खाँचो अहिले सम्मको स्थितिले पुष्टि गरेको छ । जातीय विभेदका कारणले गर्दा नै आज गन्धर्व जातिको मौलिक जातीय कलासंस्कृति लोप भैरहेको अवस्था छ ।

लोपोन्मुख गन्धर्व जातिमा रहेको मौलिक लोक तथा परम्परागत गीत, नाच, भाषा, संस्कृति, नाटक र वाद्यवादनको अभिलेखीकरण, संरक्षण, सम्वद्र्धन र विकास हुन सकेको छैन । गन्धर्व जातिका नयाँ पुस्तामा समेत आफ्नो जातीय लोक संस्कृति प्रति विकर्षण बढ्दै गएको पाईन्छ । अमूर्त सांस्कृतिक सम्पदा संरक्षणमा राज्यको उदासिनता, समुदायमा आर्थीक अभाव, जातिय भेदभाव, विश्वव्यापीकरणको प्रभाव, वैदेशिक रोजगारी, शिक्षा र चेतनाको कमी, र गन्धर्व कला र संस्कृतिलाई सम्बन्धित समुदायमा राज्यले जिविकोपार्जन सँग नजोडिदिँदा गन्धर्व जाति र संस्कृतिनेै लोप हुने अवस्थामा रहेको छ ।

गन्धर्व जातिमा मात्रै प्रचलनमा रहेको सारंगीका लोपोन्मुख राग/धुनको अनुसन्धान गरी श्रब्य, दृष्य छायांकन गरी त्यसलाई प्रकाशन समेत गरी अभिलेखीकरण गरिनु पर्दछ । यसले आम गन्धर्व जातिको बौद्धिक अमूर्त सांस्कृतिक सम्पदाको संरक्षणको सुनिश्चितता गर्दै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रूपमा यसलाई व्यावसायिक विकास गरिने संभावना रहेको छ । यसबाट गन्धर्व जातिको मौलिक सीप, कला, प्रविधि तथा सङ्गीत संस्कृतिको पहिचान, संरक्षण र प्रवद्र्धनमा समेत पर्याप्त योगदान पुग्नुका साथै परम्परागत अमूर्त सांस्कृतिक धरोहरहरूको संरक्षणमा नयाँ पुस्तको सहभागिता पनि बढ्ने छ ।

सरकारले स्थापना गरेको विभिन्न एकेडेमीहरुमा अक्सर राजीतिक झुकाव राख्नेहरुकै नियुक्ति हुने गरिएकाले गन्धर्व जातिले उचित स्थान आजसम्म पाउन सकेका छैनन् । संगीत संस्कृतिको हिसाबले नेपाल मात्रै नभएर विश्वकै लागि अमूल्य रहेको सारंगीलाई विश्वसम्पदा सूचीमा सूचीकरण गरिनु पर्दछ ।

राज्यले छुट्टै प्रतिष्ठान स्थापना गरेरै भए पनि नेपालको सांगीतिक जाति गन्धर्वलाई सँस्कृतिको मुलप्रवाहमा ल्याउनै पर्दछ । आधुनिक आर्केष्टाको निर्माण गरि उनीहरुको गीत संगीतलाई आधुनिकीकरण गरिनु पर्दछ । संगीत सहचारीको रुपमा विभिन्न देशको राजदूतावासहरुमा उनीहरुलाई नियुक्तिको व्यवस्था गरिनु पर्दछ ।

कस्मेटिक प्रकारको वर्तमान गीत संगीतको बाढीमा गन्धर्व जातिलाई उनीहरुको मौलिकपन बचाउन निकै हम्मेहम्मे परिरहेको छ । भीडहरुको बीचमा गन्धर्व जातिको विशेष स्थान रहेको छ । तर, यसबाट जीविकोपार्जन हुन नसकेकोले अरु कामबाट आम्दानी हुने, सारंगी बजाएर गुजारा नहुने र गन्धर्वको सामाजिक प्रतिष्ठामा समेत जातीय भेदभावको शिकार बन्नु परिरहेको छ ।

सामन्ती व्यवस्थाको राप र तापले सारंगी बजाएर मनोरञ्जन गर्ने, गराउने यी लोकप्रिय सांगीतिक जाति गन्धर्व र सारंगी लोप हुने अवस्थामा पुगेका छन् । उनीहरुको मौलिक साँस्कृतिक सम्पदा संरक्षणको लागि राज्यले विशेष साँस्कृतिक नीति बनाई लागू गर्नु पर्दछ ।

विडम्वना ! राज्यले सांस्कृतिक नीति निर्माणको चरणमा छलफलमा सहभागितासमेत गराउन चाहँदैन । सर्वव्यापी, प्रभुत्ववादी शक्तिशाली जातीय प्रथाले मूलतः राज्य अहिले पनि एकात्मक एकल जातिवादी मानसकिताबाट बाहिर आउन सकेको अवस्था छैन् ।

झलकमान गन्धर्वको १५ औ स्मृतिमा उहाँको आत्माले शान्ति पाओस् । राज्य सञ्चालकहरुको आत्मामा सद्बुद्धि पलाओस् । जय गीत संगीत !

पाकिस्तानी झण्डा फहराएको भन्दै सलमानविरुद्ध प्रहरीमा उजुरी

लाग्छ विवाद र सलमान खान एक–अर्काविना रहन सक्दैनन् । बलिउडका यी चर्चित अभिनेता आफ्नो नयाँ फिल्म ‘भारत’ को सुटिङका क्रममा नयाँ विवादमा फसेका छन् । यसपटकको मामला राष्ट्रियतासँग जोडिएको छ । भारतका मुस्लिम कलाकारहरुको राष्ट्रियताप्रति प्रतिबद्धतामा बारम्बार आशंका गरिन्छ । सलमान पनि सायद यस्तै आशंकाको शिकार भएका हुन् । नत्र यो घटनामा उनको खासै गल्ति देखिँदैन ।

केही दिनअघि सलमान ‘भारत’ को सुटिङका लागि बागा बोर्डर पुगेका थिए । फिल्ममा भारत–पाकिस्तान सिमाक्षेत्र देखाउनुपर्ने थियो । तर, सुरक्षा संवेदनशीलताको कारण देखाउँदै बोर्डरमा उनीहरुलाई सुटिङ गर्न दिइएन । त्यसपछि उनीहरु भारतीय क्षेत्रमा नै बोर्डरको जस्तो सेट लगाएर सुटिङ गर्ने निस्कर्षमा पुगे ।

सिमा क्षेत्रमा रहेको एउटा गाउँ नजिक स्थानीयवासीको जग्गा लिएर सेट खडा गरियो । विवाद तब उब्जियो, जब सेटमा भारत र पाकिस्तानको झण्डा राख्न खोजियो । बोर्डर झल्काउन दुवै देशको झण्डा राख्नुपर्ने वाध्यता थियो । तर, पाकिस्तानको झण्डा राख्न खोज्दा स्थानीयवासीले अवरोध गरे । उनीहरुले भारतीय भूमिमा पाकिस्तानी झण्डा फहराउन नपाइने अडान लिए । विवाद बढ्दै गयो ।

यही बीचमा केही टाठाबाठाले प्रहरीमा सलमाविरुद्ध उजुरी गरेका छन् । केहीले भने सलमान बसेको होटल घेराउ गर्न पुगेका थिए । तर, सो दृष्य खिचेरै छाडियो । सुटिङ सकेर सलमान मुम्बई फर्किएका छन् । तर, आफ्नो थाप्लोमा अर्को पुलिस केस बोकेर । यो केसले उनलाई कति सताउने छ हेर्दै जाउँ ।

426SHARES

बढैयाताल गोलीकाण्डः छोराको घरबार बिग्रेपछि मोहनलालको हत्या

६ मंसिर, बर्दिया । गत कात्तिक १९ गते बढैयाताल गाउँपालिकामा भएको गोलीकाण्डमा संलग्न पाँचजनालाई प्रहरीले पक्राउ गरी बिहीबार सार्वजनिक गरेको छ ।

राति १ बजे सोही गाउँपालिका-३ गोव्रेपुरका ३५ वर्षीय मोहनलाल खटिकलाई गोली हानी हत्या गरेर फरार भएका मुख्य योजनाकार लक्षु भनिने लक्षिराम खटिक, शालिकराम खटिक, राजेन्द्र खटिकसहित मनोरथ भनिने राम मनोहर खटिक र रामजुगेश खटिकलाई इलाका प्रहरी कार्यालय मैनापोखरले पक्राउ गरेको हो ।

घटनामा संलग्न भएका अन्य दुईजना भने फरार छन् । उनीहरुको परिचय भने खुलाइएको छैन । फरार भएका उनीहरु पेसेवर भारतीय अपराधि भएको इलाका प्रहरी कार्यालय मैनापोखरका इन्चार्ज प्रहरी निरीक्षक लक्ष्मण वलीले बताए ।

घटनाका योजनाकारण लक्षिराम, शालिकराम र राजेन्द्र खटिकले फरार रहेका दुर्इजनालार्इ सुटरका रुपमा प्रयोग गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ ।

छोराको घरबार बिग्रेपछि मोहनलालको हत्या

घटनामा संलग्नहरुको सम्बन्ध इष्टमाइतीको हो । मुख्य योजनाकार मध्येका शालिकरामको छोराले दुई वर्षअघि मोहनलालको दाइको छोरी भगाएर विहे गरेका थिए । तर, उनीहरुको सम्बन्ध बिगि्रपछि पारिवारिक बेमेल सुरु भयो ।

विवाद बढेपछि शालिकराम र मोहनलालको परिवारबीच पटकपटक झगडा हुने गरेको थियो । ठूलो रुप लिएपछि झगडा प्रहरीसम्म पुगेको थियो ।

सोही विवादकै कारण रिसिबी साँध्न शालिकरामको परिवारले हत्याको योजना बनाएको इलाका प्रहरी कार्यालय मैनापोखरका प्रहरी उपरीक्षक लक्ष्मण वलीले बताए । ‘उनीहरुले विवाद बढेपछि सहन नसकी हत्या गरेको बताएका छन् ।’ प्रहरी निरीक्षक वलील भने ।

आर्थिक लेनदेन पनि घटनामा जोडिएको प्रहरी निरीक्षक वलीले जानकारी दिएका छन् ।

आदेश तामेलीमात्र होइन छिटो काम गर्नुपर्‍यो : प्रधानमन्त्री

६ मंसिर, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रालयहरुलाई आदेश तामेली भन्दा पनि छिटो छरितो काम गर्न निर्देशन दिएका छन् ।

बिहीबार ७ मन्त्रालयको बजेट कार्यान्वयनको प्रगति विवरण सुनेपछि उनले मन्त्री र सचिवहरुलाई आदेश पालना गर्नेमात्र नभई विधिसम्मत र छिटो छरितो काम गर्न निर्देशन दिएका अर्थमन्त्री डा. युवराज खतिवडाले जानकारी दिए ।

आदेश तामेली भन्दा पनि छिटो विधिसम्मत र छिटोछरितो काम हुनुप¥यो, कानूनी प्रक्रिया पु¥याउने तर प्रक्रियाको नाममा धेरै नअल्झिन आग्रह गर्नुभएको छ’ मन्त्री खतिवडाले भने ।

बिहीबार खानेपानी, युवा तथा खेलकुद, शिक्षा तथा विज्ञान प्रविधि, सहकारी तथा गरिबी निवारण, भूमिव्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय, श्रम, वन तथा वातारण र पयटन मन्त्रालयको बजेट कार्यान्वयन प्रगतिबारे छलफल भएको थियो ।

छलफलपछि प्रधानमन्त्री ओलीले मन्त्रालयहरुको कामको गति अझै बढाउन आग्रह गरेका छन् । त्यस्तै अन्तर मन्त्रालय समन्वय बलियो बनाउन र संघ प्रदेश तथा स्थानीय तहको बीचमा समन्वय सशक्त बनाउन आग्रह गरेका खतिवडाले बताए ।

प्रधानमन्त्रीले व्यवसायिक प्रकारका विकास आयोजना सरकारले एक्लै गर्न नसक्ने हो भने निजी क्षेत्रसँग सहकार्य गरेर अगाडि बढ्नुपर्ने पनि बताएका छन् ।